Feb 25, 2010

एकलाख भोका नाङ्गा भुटानी शरणार्थीलाई खुवाई, पियाई स्याहार सुसार गर्न र मानवीय सहायता पुर्याउँदै आइरहेको दातृसंस्था हिजोआज खै किन पृथक रुपमा प्रस्तुत भएको पाइन्छ । त्यो पनि जतिवेला उसको स्वच्छ छविको आवश्यकता छ त्यसवेला ठिक विपरित रुपमा देखिनु आश्चर्यजनक भएको छ ।
संस्था आफैंमा बदनाम हुँदैन तर त्यसमा आवद्ध कर्मचारी जोकोहिले गरे पनि सो कार्य संस्थाकै मानिने हुँदा संस्थाको नाम लिनु गलत हुँदैन होला । संस्थामा कार्यरत भ्रष्ट कर्मचारीका काला कर्तुतलाई विभिन्न सञ्चार माध्यमहरुले उजागर गरिसकेपछि पनि संस्थाले त्यस्ता भ्रष्टाचारीलाई कार्वाही गर्नुको सट्टा संरक्षण गरि ‘निष्कलंक’को उपमा दिनुचाहिँ उक्तिसङ्गत पटक्कै होइन भने यसलाइ संस्थाका ठूलाबडाको गलत नियत र निर्देशन भनि बुझ्न सकिन्छ । अनि एउटा ध्रुवसत्य कुरा के भने “एउटा हाकिम आफू भ्रष्ट छैन भने मातहतको भ्रष्ट कर्मचारीलाई तुरुन्त कार्वाही गर्छ तर आफैं भ्रष्ट छ भने उसले अर्को भ्रष्ट कर्मचारीलाई केही गर्न सक्दैन किनभने त्यसो गरे उ पनि फँस्ने सम्भावना हुन्छ ।”अव सप्रशंग व्याख्या गर्दा कुरा आउँछ पुनर्वासको । यति सताएको छ युएनएचसीआरले, त्यसको व्याख्या गरि साध्य छैन । मानिसहरु तेश्रो मुलुक जान भनि लालायित भएर धमाधम फर्म भर्न थाले अनि एवम् प्रकारले उनीहरुको प्रकृया अघि बढ्दै गयो । कति भाग्यमानी थिए उनीहरुको काम फटाफट भयो अनि पुगे आफ्नो गन्तव्यमा भने कतिजनालाई रुखको चिण्डो झैं झुण्ड्याइयो अहिलेसम्म पनि । अव सोचौं तिनीहरुको हालत । यसरी रहनुको न त स्पष्ट कारण छ न त हुन्छ/हुँदैन भन्ने किटानी । अव कतिन्जेल बस्ने तिनीहरुले ? आखिर कुन न्याय हो त्यो ? अनि यसरी बस्दा पाएको यातना, अनिश्चितता र दोधारको प्रतिफल के होला ? अनि यस्तो परिस्थितिले निम्त्याएको डिप्रेशन र त्यसको नतिजा भने सोचिसाध्यै छैन । यसको जवाफदेहिता कसले लिने ?यसमा अर्को पनि पाटो छ मिश्रित विवाहितहरुको । अनि मोटो रकम र जथाभावीको पराकाष्टाको उदाहरण हो यो समस्या । हुन त अनियमिताको उदाहरण अरुमा पनि छन् तर मिश्रित जोडीबाट चाहिँ निकै मोटो रकम असुलेको पाइन्छ भने आवश्यकता अनुरुपका जोडी नभई जथाभावी पठाएको पाइन्छ । त्यस्तै जे.भि.टी.बाट प्रमाणित भएका बढि अगाडी बढाइएका पाइन्छन् भने परिवारबाट महिनौं छुटि्टएकाहरु र वरिष्ठताका आधारका मान्छे भने महिनौंसम्म हुने कि नहुने पत्तै नपाई कुरि बसेका छन् ।
एउटा कुरा भलिभाँति युएनएचसीआरले बुझोस् कि मिश्रित दम्पतीले एकातर्फ एउटाको रासनमा दुइपेट पालिनु पर्छ भने अर्कातर्फ परिवार विछोडको पिडा त्यत्तिकै गहन समस्याको रुपमा रहेको छ । यस्तोमा ती जोडीले आफ्नो प्रकृया शुरु होला भनि दुःखसुख गुजारा चलाइरहेका होलान् । अझ कतिपयले त ऋणपान खोजेर पनि परिवार धानिरहेका होलान् । अनि उनीहरुको प्रकृया अगाडि नबढाइदिँदा ती परिवारको, ती जोडीको के हाल होला ? यसै क्रममा ‘सोधपुछ’ धाउँदा धाउँदा हैरान भएका कति जोडीले त युएनएचसीआरले अनाहकमा सास्ती दिएको भनेर गुनासो र आक्रोस समेत पोख्न थालिसकेका छन् । यस्ता कुरामा सम्वन्धित पक्षले अलिक सम्वेदनशील भइदिए कसैले पनि निराशामा बाँच्नु पर्ने थिएन । अनि अझै यस्तै प्रकृया अझै चल्दै जाने हो भने यो उत्कर्षमा आएको स्थितिले कुनै अनहोनी दुर्घटना ननिम्त्याउला भन्न पनि सकिन्न ।वास्तविकता नियाल्ने हो भने अति अत्याचार र मनोमानी मिश्रित विवाहितहरुमा भएको पाइन्छ । आफ्नो तह र हैसियतको गलत उपभोग गर्दै कर्मचारीहरुले गलत जोडीलाई गलत समयमा अगाडि बढाइदिने जस्ता कृयाकलापले जायज र उपयुक्त परिवार पिडित र उपेक्षित भइरहेका छन् । र यस्ता कुकृत्यहरुमा पैसाको वलले दुइ वर्षअघि विवाह गरेका जोडीदेखि लिएर शिविरमा दर्ता नै नभएका परिवारसम्म पुनर्वास भइसकेको तथ्य जनजिव्रोमा छ ।
अतः आजसम्म जे भयो भयो अव उप्रान्त यस्तो नहोस् जोकोहीसँग पनि । युएनएचसीआर र सम्वद्ध निकायहरुले यस्ता हर्कत र दुराचारहरुको चिरफार गरि आफूलाई सफा देखाउन् र पिडितलाई समुचित न्याय र प्रकृयामा पारदर्शिता देखाउन् । सुझाव र अनियमितका कहानीहरु धेरै नै छन्, अझै आवश्यक परे प्रस्तुत गरौंला तर अहिलेलाई चाहिँ यो सानो र अपुरो अधुरो अनुरोधलाई युएनएचसीआर र सम्वद्ध निकायले मनन् गरेर पिडित र उपेक्षितलाई यथोचित न्याय, भ्रष्टलाई कार्वाही र प्रकृया सरल र स्पष्ट पारियोस्, सुलसुले सम्वद्ध सवैलाई विनम्र अनुरोध गर्दछ ।

0 comments:

Post a Comment